काठमाडौं ।
नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले प्रश्न उठाउनुभएको हो । उहाँले विधेयकले कोषको समग्र सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो । सांसद बरालले ३५ वर्षको इतिहास बोकेको नागरिक लगानी कोषले अबका दिनमा आधुनिक प्रविधि र गतिशील कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो । कोषमा रहेको ठूलो पुँजी बैंकहरूमा स्थिर निक्षेपका रूपमा मात्र रहनुले कोषको प्रभावकारितामाथि प्रश्न उठेको उहाँको भनाइ छ ।
छलफलका क्रममा कोषको आन्तरिक सुशासन र निर्णय प्रक्रियाको गतिमाथि समेत प्रश्न उठाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनलाई उद्धृत गर्दै सांसद बरालले कोषको कार्यशैलीमा देखिएका अस्पष्टता र ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कोषको जनशक्तिलाई प्रविधिमैत्री बनाउनुपर्ने र जोखिम न्युनिकरणका आधुनिक औजारहरूको उचित प्रयोग आवश्यक रहेको उहाँको सुझाव छ । सांसद बरालले तीन अर्बभन्दा बढी पुँजी परिचालनको क्षमता राख्ने यो संस्थाको वित्तीय हितलाई केन्द्रमा राखेर ऐन संशोधन गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।