काठमाडौं ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनले आज देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएको छ । 

सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारणलाई उपचारमा समस्या भएको छ । स्वास्थ्य जाँचका लागि मंगलबार विभिन्न अस्पताल पुगेका बिरामीहरु ओपीडी टिकट नपाएर उपचारबाट उपचारबाट वञ्चित भएका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नारायणी अस्पतालमा वीरगञ्जमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा मंगलबार आकस्मिक बाहेकको सेवा बन्द गरेका हुन् । मुलुककै जेठो बीर अस्पताल अस्पतालसहित त्रिवि शिक्षण र सिभिल अस्पताल लगायत ठूला सरकारी अस्पतालमा मंगलबार ओपीडी सेवा बन्द गरिएको छ ।

ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन सबै अस्पताललाई आग्रह गरेको छ । तर स्वास्थ्य मन्त्रालयको आग्रह बेवास्ता गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलन गरेका हुन् ।