काठमाडौं अर्थसचिव घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षका लागि निजी लगानी आकर्षित गर्ने खालको बजेट ल्याउने बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बिहीबार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले मात्र खर्च गरेर उत्पादनशीलता वृद्धि सम्भव नहुने भन्दै निजी क्षेत्रको लगानी आकर्षित गर्ने ‘उत्प्रेरक’ भूमिकामा केन्द्रित भएर बजेट ल्याइने उहाँको भनाइ छ ।
सरकारको प्रत्येक एकाइ खर्चले निजी लगानीलाई ‘क्राउड इन’ गर्दै उत्पादन र रोजगारी सिर्जनामा योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । अर्थसचिव उपाध्यायले अब ‘आउट अफ गभर्मेन्ट ब्यालेन्स सिट’ स्रोतबाट पनि विकास आयोजना अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
त्यसका लागि सरकारले वैकल्पिक वित्तीय व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको बताउनुभएको छ । उक्त विधेयक छिट्टै पारित भए आगामी आर्थिक वर्षको बजेटमै निजी क्षेत्रको लगानीबाट निर्माण हुने सार्वजनिक पूर्वाधार आयोजनाहरू समेटेर छुट्टै अनुसूची राख्न सकिने उहाँले बताउनुभयो ।
अर्थसचिव उपाध्यायले ऋणको विषयमा बजारमा अनावश्यक भ्रम फैलिएको बताउँदै नेपालको कुल सार्वजनिक ऋण अहिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब४३ प्रतिशत मात्र रहेको स्पष्ट पार्नुभयो । चालु खर्च नियन्त्रणका लागि सरकारले मन्त्रालय संख्या घटाउने, अनावश्यक संरचना खारेज गर्ने र दरबन्दी कटौती गर्ने काम गरिरहेको बताउनुभयो । सस्तो लोकप्रियताका लागि योजना थप्ने प्रवृत्ति अन्त्य गर्न सरकार लागि परेको समेत उहाँको भनाइ थियो ।