काठमाडौं  नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भुमिका निर्वाह गर्न ‘संसदीय बोर्ड’ गठन गरेको हो ।

एमालेका प्रमुख सचेतक ऐन महरले नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी ६ जना पदाधिकारी रहने भएका छन् ।

बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ । प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गर्दै ‘कठपुतली’ बनाउन खोजेको आरोप लगाउनुभयो ।

बैठकमा सुकुम्वासी व्यवस्थापनका नाममा सरकारले ‘डोजर आतङ्क’ सिर्जना गरेको र मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको विषयमा पनि छलफल भएको थियो । राज्यले नागरिकको आत्मसम्मानमा चोट पु¥याएको र कतिपय अवस्थामा आत्महत्याका लागि दुरुत्साहन गर्ने परिस्थिति निर्माण गरेको भन्दै एमालेले यस विषयलाई आगामी सदनमा सशक्त रूपमा उठाउने निर्णय गरेको छ ।