काठमाडौं आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस, नेकपाको ७७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै ।।
आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस, छिन्नभिन्न रुपमा रहेका कम्युनिष्ट पार्टीले ७७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।
नेकपा दिवसको अवसरमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले बेग्लाबैग्लै कार्यक्रम आयोजना गरेका छन् ।
बि सं २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको हो ।त्यस बेला पुष्पलाल महासचिव बन्नुभएको नेकपा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ सदस्य रहनुभएको थियो । नेकपामा त्यसपछि समनमोहन अधिकारी, तुलसीलाल अमात्य र केशरजंग रायमाझी लगायतका अरु नेता पनि जोडिनु भएको हो ।
नेपालमा जहानियाँ राणा शासन अन्त्य गर्ने उदेश्यसहित स्थापना भएको नेकपा लामो समइ भूमिगत रह्यो । सामान्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको कम्युनिष्ट पार्टी विभिन्न पटक फुट्दै र जुट्दै आएको छ । कम्युनिष्ट पार्टीको श्रृंखलावद्ध विभाजनले पछिल्लो समय राष्ट्रियता कमजोर हुनुको साथै लोकतन्त्र नै धरापमा पर्ने स्थिति देखिएको छ ।