काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताउनुभएको छ । 


काठमाडौंमा आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । १९ औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जङ्गबहादुर राणाले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको उहाँको भनाई छ । पूर्वराष्ट्रपति भण्डारीले जंगबहादुरले नेपालमा मुलुकी ऐन बनाउन शुरुवात गरेको समेत बताउनु भयो । राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उहाँले बताउनुभएको छ ।


पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सती प्रथालाई निरुत्साहित गर्ने पहल जङ्गबहादुरले नै गरेको बताउनुभयो । उहाँले इतिहासका विभिन्न कालखण्डका अनुभवबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।