काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनको लागि नयाँ अभियान आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता शर्माले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको टिप्पणी गर्नुभयो । उहाँले अहिले कम्युनिष्ट आन्दोलनभन्दा पनि त्यसमा आवद्ध नेता र समर्थक मात्रै बाँकी रहेको टिप्पणी गर्दै आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गर्नुभयो । यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उहाँको भनाइ छ ।
शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार उल्लेखनीय रूपमा खस्किएको बताउनु भयो ।