काठमाडौं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गर्नुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो । संयोजक प्रसाईले राजसंस्था फर्काउन र गद्धीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउनुभएको छ ।

संयोजक प्रसाईंले नेता डा. धवलशमशेर राणा र आफूबीच लक्ष्यसहितको सहकार्य भएकाले बीचमा फाटो आउन अवस्था नरहेको पनि बताउनुभयो । मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी समेत दिनुभएको छ । उहाँले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि आफूले नेकपा (एमाले)लाई जस्तै नांगेझार पार्ने समेत दावी गर्नुभयो ।

संयोजक प्रसाईंले किसानले मल नपाएको, दुध किसानले भुक्तानी नपाएको जस्ता विषयमा पनि सरकार गम्भिर नभएको आरोप पनि लगाउनुभएको छ ।