काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री बालेन शाहलाई चेतावनी दिनुभएकाे छ।
गत जेठ १७ गते संघीय संसद्को प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति देशद्रोही र राष्ट्रघाती भएको ओलीले बताउनुभयाे । बुधबारदेखि काठमाडौंमा शुरू भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी नबोल्न चेतावनी दिनुभएकाे हाे।
‘नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा ?’, उहाँले भन्रुभयाे, ‘बालेनले देशद्रोही अभिव्यक्ति दिए । यो भन्दा देशको हितविपरीतको कुरा के हुन्छ ? म चेतावनी दिन चाहन्छु, प्रधानमन्त्री जस्तो मान्छे जथाभावी बोल्दै, केटाकेटी जस्तो व्यवहार गर्दै नहिँडून ।’ओलीले बालेन संसद्को नियमवालीसमेत पालना नगरी अचानक आएर बोल्छु भन्दै राष्ट्रघाती कुरा गरेको पनि बताउनुभयाे । बालेनको त्यो हर्कत कुनै हालतमा मान्य नहुने पनि उहाँकाे भनाइ छ।
अध्यक्ष ओलीले अरु देशलाई आफ्नो सीमा विवादमा जोड्न जरुरी नभएको पनि स्पष्ट पार्नुभयाे । बालेनले भारतसँगको सीमा विवादमा बेलायत सरकारलाई तेस्रो पक्षका रुपमा खबर गरिएको बताएपछि ओलीले त्यसको कडा विरोध गर्नुभएकाे हाे । बालेनले देशहितविपरीत बोलेको कुरालाई समर्थन गर्नेहरूलाई पनि मासुभातको संज्ञा दिनुभयाे ।
‘हामीलाई केही समय अघिसम्म मासुभात भन्दै सार्वजनिक रुपमा बेइज्जती र अपमान गरिन्थ्यो’, उहाँले भन्रुभयाे, ‘तर अहिले बालेनले राष्ट्रघाती कुरा गर्दा पनि त्यसलाई भासुभातभन्दा चर्को शैलीमा समर्थन गरिँदैछ । यो त मासुभात पनि माथ खुवाउने शैली भयो ।’