काठमाडौं सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गरेको छ।
प्रतिनिधिसभाको आयतबार बसेको बैठकमा प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि मिचेको र दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्ने बताउनुभएको थियो । सोही सन्दर्भमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा मंगलबार सिंहदरबारमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे आफू आश्चर्य भएको बारेमा कुरा राख्नुभएको भन्दै प्रधानमन्त्री साहको बचाउ गर्नुभयो । प्रधानमन्त्री साहको उक्त भनाइबारे परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको र भूमि सम्बन्धी सीमा विवाद समाधानका लागि बनेको संयन्त्रका आधारमा प्रधानमन्त्रीले धारणा राख्नुभएको उहाँको जिकिर छ । सीमा समस्या समाधानका लागि कुटनीतिक नोट पठाइसकिएको र दुई देशबीच रहेका सीमा विवादहरू टेबल टकमार्फत समाधान गरिने स्पष्ट पार्नुभयो ।
प्रवक्ता पोखरेलले प्रधानमन्त्री साहले सदनमा राख्नुभएको धारणा पुनः सुन्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो। मन्त्रिपरिषद् बैठकले सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।