काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरु देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त भनाई राख्नुभएको हो । नेता आङदेम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँडनुपर्नेमा सत्ता पक्ष केही सांसदहरुले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरुलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताउनु भयो । उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कुटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
नेता आङदेम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्माहत्या भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो पनि गर्नुभयो ।