काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
संसदीय दलको सोमवार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र पुनस्र्थापनाका लागि पार्टीले यो कदम चालेको जानकारी दिनुभएको हो । बैठकमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका नेता तथा सांसदहरूले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउनुका साथै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैठकले संसदको अधिवेशन तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
प्रमुख सचेतक थापाकाअनुसार सदनमार्फत नै जनताका समस्याहरूलाई सरकारसमक्ष पु¥याउन र बेपत्ता भएका व्यक्तिहरूको खोजतलासका लागि जिल्ला–जिल्लाबाट सूचना संकलन गर्न सहज हुने भएकाले सदन खुलाउन जरुरी देखिएको हो । यसबारे सभामुखसँग समेत छलफल गरिने उहाँले बताउनु भयो । स्थलगत अनुगमनका सन्दर्भमा काँग्रेसले आफ्ना सांसदहरूलाई प्रभावित क्षेत्रमा जाँदा उद्धार कार्यमा बाधा नपुग्ने गरी, भीडभाड नगरी र आवश्यक समन्वयका साथ मात्र जान निर्देशन दिएको छ । राहत वितरणको प्रभावकारिताबारे बोल्दै थापाले हाल कायम रहेको ‘एकद्वार प्रणाली’ राहत संकलनमा सफल देखिए पनि वितरणमा भने समस्या देखिएको टिप्पणी गर्नुभयो ।
प्रभावित क्षेत्रमा राहत नपुगेको र व्यवस्थापनमा कमजोरी देखिएको जनगुनासो आएकाले त्यसलाई सम्बोधन गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा समेत काँग्रेसले जोड दिएको छ ।