काठमाडौं ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को अवधारणा कडाइका साथ लागू गर्ने संकेत गर्नुभएको छ ।
१५ औँ महाधिवेशनमा सोमवार बन्दसत्रमा आफ्ना धारणा राख्दै उहाँले अब केन्द्रिय समितिमा रहेका नेताहरूले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा उम्मेदवारी दिँदा प्राथमिकता नपाउने र उनीहरूलाई टिकट वितरण प्रक्रियाबाट बाहिर राखिने चेतावनी दिनुभएको हो । थापाले पार्टी संगठनलाई थप सुदृढ र व्यावसायिक बनाउन यो कदम आवश्यक रहेको जिकिर गर्नुभयो । यसअघिका अभ्यासभन्दा फरक ढंगले प्रदेश समितिलाई अधिकारसम्पन्न बनाउने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँकाअनुसार, अब गठन हुने प्रदेश समितिहरू केवल नाम मात्रको हुने छैनन् ।
प्रदेश सभापतिहरूलाई पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको पदेन सदस्य रहने गरी विधानबाटै अधिकार दिइने उहाँले बताउनु भयो । यो व्यवस्थाले तल्लो तहको नेतृत्वलाई थप सक्रिय र जवाफदेही बनाउने पार्टी नेतृत्वको विश्वास छ ।