काठमाडौं
नेपाली कांग्रेसले मंगलबारदेखि देशैभरी ‘जरा अभियान’ शुरू गरेको छ ।
पार्टी संगठनलाई वडा तहदेखि नै पुनर्गठित गर्ने लक्ष्यसहित अभियान शुरु गर्न लागेको दावी कांग्रेसले गरेको हो । एक महिनासम्म चल्ने अभियानका लागि सबै जिल्ला र निर्वाचन क्षेत्रमा प्रतिनिधिहरू खटाइएको छ । अभियानमा सहभागी भई आफ्नो सदस्यता अद्यावधिक नगर्ने क्रियाशील सदस्यहरुले पार्टीको १५ औ महाधिवेशनमा भाग लिन नपाउने चेतावनी पनि दिईएको छ । सभापति गगन थापाको यो चेतावनीपछि कांग्रेस विवाद थप जटिलतातर्फ धकेलिएको छ । विशेष महाधिवेशनलाई अवैध मान्दै आएको शेरबहादुर देउवा समूहले थापा पक्षले क्रियाशील सदस्यता खारेज गर्न खोजेको आरोप लगाएको छ ।
सोमबार कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा वर्तमान कार्यसमिति नै ‘तथाकथित विशेष महाधिवेशनबाट बनेको’ बताउनुभयो । क्रियाशील सदस्यता खारेज गर्ने विषय स्वीकार्य नभएको खड्काले उल्लेख गर्नुभएको छ ।
विशेष महाधिवेशनबाट चुनिएका दुई महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरेले सामाजिक सञ्जालबाटै सदस्यता खारेज गर्न लागिएको कुराको खण्डन गरेका छन् । दुई पक्षबीच विवाद बढदै जाँदा विशेष महाधिवेसनबाट चयन भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाईएको हो।
बुधबार दिउँसो २ बजेका लागि बोलाईएको बैठकअघि अनुशासन समितिको बैठक पनि बस्ने भएको छ । कार्यवाहक सभापतिको हैपिसयतमा समानान्तर गतिविधी तथा लेटरहेड प्रयोग गरेको भन्दै समितिले यसअघि खड्कालाई सचेत गराएको थियो । तर खड्काले सोमबार पुनः सोही हैसियतमा बक्तव्य निकालेपछि अनुशासन समितिले कारबाहीको सिफारीस गर्ने सम्भावना बढेको हो । जसले कांग्रेसलाई थप जटिलतातर्फ धकेल्ने निश्चित छ ।