काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिब्र विकास, शान्ति र प्रगति चाहेको बताउनुभएको छ । 

लोकसेवा आयोगको स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकसेवा आयोगको साढे सात दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आयोगप्रतिको अटुट जनविश्वास नै यसको सबै भन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य सुशासन, प्रभावकारी सेवा प्रवाह र मुलुकको तिब्र विकास भएको बताउनुभयो । राष्ट्रपति पौडेलले आयोगकै कारण मेहनती युवाहरूले लोकतान्त्रिक व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देखेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विगतको अनुभव र विश्वव्यापी रूपमा विकसित सिद्धान्तहरूको अध्ययन गरी आयोगले आगामी दिनमा आफ्ना कार्यहरूलाई थप परिष्कृत र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।