काठमाडौं ।

सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ । 

सोमवार काठमाडौंमा २१३ औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सिमित नराखी, त्यसलाई आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिष्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनस्तरसँगको सामीप्यता आजको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै सभामुख अर्यालले युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्नुपर्ने बताउनु भयो । उहाँले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । भानुभक्तको सम्मानमा गरिने हरेक कार्य नेपाली राष्ट्रियताको रक्षा र मौलिकताको परिचायक हुने उहाँको भनाइ छ । 


सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुई श्रष्टालाई सम्मान समेत गर्नुभयो । सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टर रहेका छन् ।