नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट विकास कुटनीतितर्फ लैजान चाहेको बताउनुभएको छ ।
आईतवार नयाँदिल्लीस्थित नेपाली दुतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल–भारत सम्बन्धलाई पुराना भू–राजनीतिक दृष्टिकोणबाट नभई विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको बताउनु भयो । उहाँले नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भएर परिणाममुखी कुटनीतिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
उहाँले भारत भ्रमणको क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भारतसँग छलफल भएको जानकारी दिनुभयो । मन्त्री खनालका अनुसार भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी तथा आर्थिक सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो । भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । नेपाल–भारतबीच व्यक्ति–व्यक्ति (पीटुपी) सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आएकोले यसले दुवै देशका नागरिक, पर्यटक र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाई छ । त्यस्तै, भारतीय सहयोगमा निर्माण गरिएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना औपचारिक रूपमा हस्तान्तरण भएको तथा काठमाडौं विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारी भएको उहाँले जानकारी दिनुभयो ।