काठमाडौं ।

महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले फौजदारी न्याय प्रणालीलाई पीडितमैत्री बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम शुरु गरेको बताउनुभएको छ । 

महान्यायाधिवक्ता कार्यलयका चौथो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यप्रगति सार्वजानिक कार्यक्रममा उहाँले प्रत्येक फौजदारी मुद्दामा अपराध पीडितका लागि अनिवार्य रूपमा क्षतिपूर्ति दाबी गर्ने अभ्यासको थालनी गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार यसअगाडी क्षतिपूर्ति दाबी गर्ने अभ्यास थिएन । नेपालको संविधान र फौजदारी अपराध संहिताले व्यवस्था गरेको क्षतिपूर्तिसहितको न्यायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू महान्यायाधिवक्ता भएर आएपछि शुरु गरेको उहाँको भनाई छ ।

उहाँले सरकारी वकिलको अदालतमा अनिवार्य उपस्थिति, साक्षी वकपत्रलाई प्रभावकारी बनाउने तथा पीडितलाई पर्याप्त कानूनी परामर्श उपलब्ध गराउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको बताउनु भयो । सरकारी मुद्दाको कमजोर अभियोजन, साक्षी व्यवस्थापन र पुनरावेदन प्रक्रियामा हुने ढिलाइबारे आएका गुनासोलाई सम्बोधन गर्न यी सुधार गरिएको उहाँको भनाई छ ।

सरकारी वकिलको कार्यालयको कार्यसम्पादन सुधार गर्न प्रत्यक्ष अनुगमन प्रणाली लागू गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले दैनिक सेवा प्रवाहको अनलाइन अनुगमन प्रणालीसमेत सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो ।