काठमाडौं परराष्ट्रमन्त्री खनाल एभीओपरराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र चीनको राजधानी बेइजिङ पुग्नुभएको छ ।
परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिने भ्रमणका लागि आइतबार बेइजिङ पुग्नुभएको हो । उहाँ काठमाडौंबाट शनिबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्री खनाललाई बेइजिङस्थित विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा त्यहाँको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गर्नुभएको छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आइतबार साँझ स्वागत समारोह आयोजना गर्दैछ ।
समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ । चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने तालिका छ । नेपाली दूतावासले मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङमा लगानी सम्मेलन गर्दैछ । मन्त्री खनाल सम्मेलनमा सहभागी भएर चिनियाँ उद्यमी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम समेत रहेको दूतावासले जनाएको छ । मन्त्री खनाल असार ३ गते स्वदेश फर्किनुहुनेछ ।