काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।
चारदिने भ्रमणमा चीनमा रहनुभएका परराष्ट्रमन्त्री खनाल र अध्यक्ष वाङबीच मंगलबार बिहान बेइजिङमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार परराष्ट्रमन्त्री खनाल र अध्यक्ष वाङबीच विकास सहकार्य, व्यापार, लगानी, पर्यटनको साथै दुई मुलुकबीच जनस्तरको सम्बन्धलाई सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ । मन्त्री खनालले नेपाल–चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने सिपिपिसिसी अध्यक्ष वाङको दृढ प्रतिवद्धताको प्रशंसा गर्दै दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
मन्त्री खनालले आज ‘ह्वाइट पागोडा’को भ्रमण गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले नेपाली दूतावासले मंगलबार बेइजिङ आयोजना गरेको लगानी सम्मेलनमा सहभागिता जनाउनु हुनेछ। मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको हो । उहाँहरूबीच सोमबार प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भइसकेको छ । मन्त्री खनाल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।