काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज भेटवार्ता हुँदैछ ।


चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र समकक्षी वाङ यीबीच बेइजिङको समयानुसार सोमबार साँझ ५ः४५ बजे भेटवार्ता हुने नेपाली दूतावासले जनाएको हो । नेपाली दूतावासका अनुसार वार्तामा उहाँहरुबीच नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउनेबारे गहन छलफल हुनेछ । 


परराष्ट्रमन्त्री खनालले आजै चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । परराष्ट्रमन्त्री खनालले सोमबार बिहान ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’ अवलोकन गर्नुभएको छ । 


परराष्ट्रमन्त्री खनाल चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य समेत रहनुभएका विदेशमन्त्री वाङको निमन्त्रणामा चार दिने भ्रमणको लागि आइतबार बेइजिङ पुग्नुभएको हो । मन्त्री खनाल भ्रमण असार ३ गते स्वदेश फर्किनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।