काठमाडौं ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गरिएको सिवषयमा मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र संलग्न सबैलाई कारबाही गर्ने जानकारी दिनुभएको हो । उहाँका अनुसार प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो ।
मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिएका उल्लेख गर्दै यसपटक तत्कालै कारबाही प्रक्रिया अघि बढाइएको र सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो । घटनाको विस्तृत अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । ८ साउनमा सञ्चालन भएको एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।