काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आधारभुत समस्या र राष्ट्रियताका मुद्दाहरूलाई सशक्त रूपमा उठान गरेर पार्टीको लोकप्रियता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले देशभक्तिपूर्ण आन्दोलन र जनपक्षीय अडानका माध्यमबाट मात्र पार्टीको लोकप्रियता बढ्ने बताउनु भयो । जनतासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गर्दै उनीहरूका समस्या समाधानका लागि इमानदार प्रयास गरे मात्र एमाले पुनः जनताको बीचमा स्थापित हुनसक्ने जिकिर गर्नुभयो । उहाँले पार्टी कार्यकर्ताहरूलाई जनताका पीर–मर्का बुझ्न र ती समस्या समाधानका निम्ति सक्रिय रहन समेत निर्देशन दिनुभयो । पार्टी पछिल्लो समय सूचना प्रविधिको प्रतिस्पर्धामा केही कमजोर देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले ‘आईटी वार’ मा पछाडि परेका कमजोरीहरूलाई सुधार्नुपर्ने आवश्यकता औँल्याउनु भयो । ज्ञानको भण्डार अथाह रहेको र कुनैपनि कुरा सिक्न असम्भव नरहेको उल्लेख गर्दै उहाँले नेता तथा कार्यकर्ताहरूलाई आधुनिक प्रविधिको प्रयोगमा अभ्यस्त हुन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले विज्ञहरूको परामर्श, पुस्तक, पुस्तकालयका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र च्याट जीपीटी जस्ता आधुनिक प्रविधिहरूको उच्चतम प्रयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उपलब्ध स्रोत र सञ्चार माध्यमहरूको सही सदुपयोग गर्दै पार्टीको विचार र कार्यदिशालाई आम जनतामाझ पु¥याउन उहाँले आह्वान गर्नुभयो ।