काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र साहले लगानीकर्ताको जायज मागहरु सम्बोधन गरी पुँजीबजार सुधार गर्ने आश्वासन दिनुभएको छ ।
सोमवार पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री साहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको हो । सरकारले पुँजीबजार सुधारका लागि उठाइएका जायज माग कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री साहसँगको भेटपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो।
आईपीओ प्रणालीमा सुधार गर्दै १० कित्ते नीति हटाएर योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, बजारको तरलता र कारोबार परिमाण बढाउनुपर्ने लगायतको माग आफूहरुले राखेको उहाँले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सीडीएसलगायत नियामक तथा बजार सञ्चालक निकायसँग छलफल गरेर आवश्यक सुधार गर्ने प्रतिवद्धता प्रधानमन्त्री साहले जनाउनुभएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री साहले पुँजी बजारले रोजगारी सिर्जना र राजश्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीको सक्रियताप्रति आफूहरू उत्साहित रहेको र पुँजीबजारमा देखिएका समस्याहरु समाधान हनेमा विश्वस्त रहेको लगानीकर्ताहरुको भनाई छ ।