काठमाडौं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दावी गर्नुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै उहाँले अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनुभएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले सफलता पाएको बताउनुभएको छ । यद्यपि रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको टिप्पणी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै वैकल्पिक शक्तिहरू नै अबको निकास भएको दावी गर्नुभयो । बहुमत वा दुई–तिहाइको सरकारले मात्रै निकास नदिने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेको उहाँको भनाइ छ ।