काठमाडौ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले देशका विभिन्न स्थानमा देखिएको अनियमित विद्युत आपूर्तिको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पुराना र जीर्ण विद्युतीय संरचनाका कारण मागअनुसारको गुणस्तरीय आपूर्तिमा चुनौती थपिएको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठकाअनुसार विद्युत माग बढ्दो क्रममा रहेको तर दशकौँ पुराना संरचनाले उक्त भार धान्न नसक्दा समस्या उत्पन्न भएको हो । नागरिकका गुनासो सुन्न हटलाइन चौबीसै घण्टा सञ्चालनमा रहेको र पछिल्लो तीन महिनामा १८ हजार ३०० गुनासो सम्बोधन गरिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउँदै आन्तरिक खपत वृद्धि र निर्यात रणनीतिमार्फत मुलुकको समृद्धिमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।