काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण क्रमशः विधि प्रकियाअनुसार हुँदै जाने बताउनुभएको छ । 

पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्यता आवश्यक पर्ने बताउनुभएको हो । उहाँले नयाँ पुस्तालाई तालिम, क्षमता विकासमार्फत क्रमशः नेतृत्वका लागि तयार गनुपर्ने बताउनु भयो । तर अहिले समाजमा पुस्तान्तरणको नाममा विभाजन गर्ने प्रयास भईरहेको उहाँको आरोप छ । उहाँले समाजमा जात, धर्म र भूगोलका आधारमा विभाजन गर्न नसकेर हाल बाबु–छोरा तथा हजुरबा–नातिबीच पुस्तागत द्वन्द्व सिर्जना गर्न खोजिएको बताउनु भयो । नयाँ पुस्ताले पुरानो पुस्तालाई तत्काल जिम्मेवारी छाड्न दबाब दिनु अनुचित भएको उहाँको दाबी छ । उहाँले प्राध्यापक बन्नका लागि लेक्चररबाट शुरु गर्नुपर्ने बताउनु भयो । नयाँ पुस्तालाई योग्य, दक्ष र सक्षम बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजाने उल्लेख गर्दै उहाँले नेतृत्व हस्तान्तरणका लागि आवश्यक तयारी र अनुभव हासिल गर्न समय लाग्ने बताउनु भयो । आफ्नो राजनीतिक जीवनको सुरुवाती समय स्मरण गर्दै उहाँले आफूहरु सानै उमेरमा नेतृत्व तहमा पुगेको बताउनु भयो । तर तत्कालीन नेतृत्वको उमेरलाई अहिलेको पुस्तासँग सीधै तुलना गर्न नमिल्ने उहाँको जिकिर छ । अहिले १९ वर्षको मान्छेले पार्टी प्रमुख हुनुपर्छ भन्यो भने हास्यास्पद हुने उहाँको भनाई छ ।

उहाँले कुनै व्यक्तिले जिम्मेवारी निर्वाह गर्न नसक्ने अवस्था आएपछि नेतृत्वबाट आफै हट्ने बताउनुभयो । हाल पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले पुस्तान्तरण लगायतका अनेक झमेलामा नपर्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले देशलाई एमालेले नै सही बाटोमा लैजाने बताउनु भयो । एउटा निर्वाचन हार्दैमा एमाले कमजोर नहुने उहाँको भनाई छ । उहाँले कार्यकर्ताहरुलाई उच्च मनोबलका साथ जागरण अभियानमा पनि आग्रह गर्नुभयो ।