काठमाडनैं
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले विधेयक दर्ता तथा सभामा विधेयकमाथि छलफलको समय निर्धारण र महाअभियोग प्रश्ताव तथा संविधान संशोधन सम्बन्धी प्रावधानहरूमा पुनरावलोकन शुरु गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा यी विषयमा छलफल भएको मस्यौदा समितिका सदस्यहरुले बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नियमावली मस्यौदा समितिकी सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले विधेयक दर्ताअघि र पछि कति समय दिने, सरकारी तथा गैरसरकारी विधेयकसम्बन्धीको व्यवस्थाका विषयमा छलफल भएको बताउनुभयो । विधेयक दर्ता र छलफलसम्बन्धी प्रावधान प्रतिनिधि सभा नियमावली, २०७९को १५ देखि १८ परिच्छेदमा रहेको छ । उहाँले महाअभियोग प्रश्ताव र संविधान संशोधन प्रक्रियालाई थप स्पष्ट र छरितो बनाउने गरी बैठकमा छलफल भएको बताउनुभएको छ ।
नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभालाई व्यवस्थित, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यसहित नियमावली मस्यौदामा काम भइरहेको बताउनुभयो । उहाँकाअनुसार २०७९ सालको प्रतिनिधि सभा नियमावलीलाई आधार मानेर आवश्यक सुधार गर्दै नयाँ नियमावली तयार पारिँदैछ । उहाँले विधायिकाले निर्माण गर्ने कानूनमार्फत कार्यपालिकालाई कसरी थप जवाफदेही बनाउने र संसदमार्फत पारित कानूनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने विषयमा समितिको बैठक केन्द्रित रहेको जानकारी दिनुभयो ।