काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय टिकाउ नहुने दाबी गर्नुभएको छ । 

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव महासेठले सरकारलाई प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनुभयो । सरकारले प्रतिपक्षलाई वास्ता गर्दैन र पेलेरै अगाडि बढ्ने सोच राख्छ भने त्यो सरकार टिकाउ नहुने उहाँको जिकिर छ ।

वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी कार्य हुन नसकेको सङ्केत गर्दै उहाँले सरकारले सबै दललाई मिलाएर लैजानुपर्ने बताउनु भयो । मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जनमतबारे टिप्पणी गर्दै उहाँले मधेसी जनताले विश्वास गरेर पठाएको भन्दै रास्वपाले पनि मधेसको भावना अनुकूल काम गर्नुपर्ने बताउनु भयो ।

सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको महासेठले आलोचना गर्नुभयो । साउन १ गतेदेखि लागू हुनेगरी जग्गा खरिद–विक्री दुवै पक्षले कर तिर्नुपर्ने व्यवस्था र शिक्षा–स्वास्थ्यमा थपिएको करको भारले सर्वसाधारण मारमा परेको उहाँको दाबी छ । जनताको आधारभूत आवश्यकतामा कर बढाउनु न्यायोचित नभएको भन्दै उहाँले यसप्रति सरकार गम्भीर हुनुपर्ने माग गर्नुभयो ।