काठमाडौं संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका शर्मालाई समितिको मंगलबार बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको हो । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो
। सुनुवाई प्रक्रियाका क्रममा प्रश्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ । सभापति श्रेष्ठले प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको बताउनुभयो ।
सभापति श्रेष्ठले आगामी सुनुवाई प्रक्रियालाई थप परिष्कृत र सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । संवैधानिक परिषद्ले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।