काठमाडौं  सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।

संवैधानिक परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो। संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको सूचनामा बैठक बिहीबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ ।

बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको हो ।