काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा दिएको पछिल्लो आदेशलाई सम्मान गर्ने बताएका छन्। उनले विशेष महाधिवेशनबाट भएको निर्णय कानुनी रूपमा वैधानिक रहेको र सर्वोच्च अदालतबाट फेरि पनि पुष्टि हुने विश्वास व्यक्त गरेका छन्।शुक्रबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सर्वोच्चको आदेशपछि स्वाभाविक रूपमा केही प्रश्न उठे पनि पार्टी अदालतको प्रक्रियाप्रति पूर्ण सम्मानका साथ अघि बढ्ने बताए।
हिजो सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता विवादमा एउटा आदेश आएको छ। त्यसबाट स्वाभाविक रूपमा केही प्रश्न उठेका छन्। हाम्रो स्पष्ट धारणा के हो भने हामी उक्त निर्णयलाई सम्मान गर्छौं,’ उनले भने।
थापाले कांग्रेसको विधानअनुसार सार्वभौम महाधिवेशन प्रतिनिधिको बहुमत उपस्थितिमा विशेष महाधिवेशन सम्पन्न भएको र त्यसको वैधानिकता निर्वाचन आयोगले स्वीकार गरिसकेको उल्लेख गरे। उनले सर्वोच्च अदालतले पनि त्यसलाई मान्यता दिइसकेको भन्दै अब थप पुष्टिका लागि पुनः समीक्षा गर्नुपर्ने भए पनि त्यसलाई सकारात्मक रूपमा लिने बताए।