काठमाडौं सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताउनुभएको छ ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पार्नुभयो । त्यस्तै बजेट निर्माणको तयारीका विषयमा जानकारी दिँदै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेटको कामलाई तिब्रता दिएको उल्लेख गर्नुभयो ।
सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’ को रूपमा व्याख्या गर्नुभयो ।आगामी गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन हुने वा नहुने भन्ने प्रश्नमा उहाँले यसबारे मन्त्रिपरिषद्मा कुनै विशेष छलफल नभएको जानकारी दिनुभयो । यद्यपि, प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताका आधारमा उचित समयमा सम्बोधन गर्ने उहाँको भनाइ थियो ।