काठमाडौं प्रधानमन्त्री बालेन्द्र साहको सीमा सम्बन्धी विवादित अभिव्यक्ति लगत्तै भारतीय सशस्त्र सीमा बल (एसएसबीं) नेपाली भूमि नवलपरासीको सुस्ता प्रवेश गरेको छ ।
प्रधानमन्त्री साहले आइतबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने धारणा व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री साहको यस्तो अभिव्यक्ति लगत्तै एसएसबीको टोली नेपाली भूमि सुस्ता आएको हो ।
एसएसबीले सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको त्यहाँबाट स्थानीयले जानकारी दिएका छन् । आइतबार साँझ नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका ९५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएको हो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एसएसबीको दबाबपछि काम रोकिएको पुष्टि गर्नुभएको छ । सुस्तामा कटान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रूपैयाँ लगानीमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ ।