काठमाडौं प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसदमा माफी माग्नुपर्ने माग गरेको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठक शुरु हुने वित्तिकै बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग गर्नुभएको हो । प्रमुख सचेतक महरले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि दबाब दिनुभयो । उहाँले नेपालले कुनैपनि मुलुकको एक इन्च भूमि पनि नमिचेको दावी गर्दै ती तथ्यहरुको हेक्का राख्न पनि प्रधानमन्त्री साहलाई सचेत गराउनुभएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको तथ्य अध्ययन गर्न पनि प्रधानमन्त्री साहलाई प्रमुख सचेतक महरले सचेत गराउनुभयो ।
प्रमुख सचेतक महरले प्रधानमन्त्री साहलाई देशद्रोही खालको अभिव्यक्ति नदिन पनि ध्यानाकर्षण गराउनुभयो ।