काठमाडौं नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाह संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री शाह स्वयंले संसदलाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाइरहेको बताउनुभयो ।
उहाँले संसद गुरुकुल र विश्वविद्यालय जस्तो हुनुपर्ने भन्ने सत्तापक्षका संसद मनिष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले विश्वविद्यालय समान संसदको बंक हान्न थालेको बताउनुभएको छ ।
नीति तथा कार्यक्रमलाई देशको रोडम्याप भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री कै कारण यसमाथि पर्याप्त छलफल हुन नसकेको बताउनुभयो । प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको उहाँको तर्क छ । राईले सभामुख डीपी अर्यालसँग प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित हुन रुलिङ गर्न पुनः ध्यानाकर्षण गराउनुभयो ।