काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने तयारी गर्नुभएको छ ।
यस अगाडि उहाँले आफू महासभामा नगएर परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने निर्णय गर्नुभएको थियो । तर भदौ १० गते भोटेकोशीमा ठूलो बाढी आएर अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि वालेन्द्रलाई राष्ट्रसंघमा गएर आफैं कुरा राख्न दवाब परेको थियो । उक्त दबाबबीच प्रधानमन्त्री शाहले महासभामा आफू पनि जाने निर्णय गर्नुभएको हो ।
उहाँको साथमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि जाने तयारी गरिएको छ । भोटेकोशी बाढीको क्षतिलाई नै मुख्य मुद्दा बनाएर नेपालले राष्ट्रसंघमा कुरा राख्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री महासभामा जाने टुंगो दुई दिनअघि लागेको हो । सुरुमा प्रधानमन्त्री नजाने भएपछि विपक्षीसँगै मिडिया र विज्ञले पनि दबाब दिएका थिए । प्रधानमन्त्री शाहलाई रास्वपा सभापति रवि लामिछानेले पनि महासभामा जान भनेका छन् ।
प्रधानमन्त्री शाह सहभागी हुने महासभाको कार्यक्रम सेप्टेम्बर ८ देखि न्यूयोर्कमा सुरू हुनेछ । प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण पनि हुनेछ । छिमेकी मुलुक भारत र चीनसमेत नगई उहाँ अमेरिका र राष्ट्रसंघमा जान लाग्नुभएको हो । अब उहाँमाथि नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको मुद्दा स्थापित गर्ने दबाब छ । संयुक्त राष्ट्रसङ्घको औपचारिक अधिवेशन ८ सेप्टेम्बरमा सुरु भए पनि उच्चस्तरीय बहस २२ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२६ सम्म चल्नेछ । त्यही समयमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।