काठमाडौं प्रधानमन्त्री बालेन साहले दिएका्े सीमा सम्बन्धी विवादित अभिव्यक्तिप्रति माफी नमागेसम्म संघीय संसद चल्ने नदिने विपक्षी दलले बताएका छन् ।

प्रधानमन्त्री साहले आइतबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने धारणा व्यक्त गर्नुभएको थियो ।विपक्षी दलले प्रधानमन्त्री साह संसदमा उपस्थित भएर त्यो अभिव्यक्तिप्रति माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्।

विपक्षी दल सोमबार बसेको संयुक्त बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती ठहर गर्दै त्यो संसदको रेकर्डबाट हटाएर माफी नमागेसम्म सदन चल्न नदिने ने निर्णय गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका विपक्षी दल राष्ट्रियतामा एकमत भएका हुन् ।

प्रधानमन्त्री साहको अभिव्यक्तिप्रति सीमाविद्, कानुनविद् र भारतका लागि नेपाली पूर्वराजदूतहरुले समेत आपत्ति जनाएका छन् ।

विपक्षमा रहेका दलका भातृ संगठनहरुले यही प्रकरणलाई लिएर प्रधानमन्त्री साहको पुत्ला दहन गर्दै मुलुकको विभिन्न ठाउँमा प्रदर्शन थालेका छन् । प्रधानमन्त्री साहको अभिव्यक्तिविरुद्ध एमाले सोमबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।