काठमाडौं नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा बोल्दै नेता थापाले यस्तो असहमति रहेको बताउनुभएको हो । प्रधानमन्त्री साहको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्रमन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोष्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो । प्रधानमन्त्री साहले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै नेता थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको सङ्केतका रूपमा चित्रण गर्नुभएको छ । उहाँले प्रधानमन्त्री साहको कार्यशैलीले मुलुकलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो ।

नेता थापाले प्रधानमन्त्री साहले रोष्टममा आएर आफ्ना गल्तीहरू सच्याउनुपर्ने, सभामुख डिपी अर्यालले विवादित अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्ने बताउनुभयो । यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको सङ्घर्ष जारी रहने नेता थापाले स्पष्ट पार्नुभएको छ ।