काठमाडौं ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आधुनिक प्रविधि र जलवायु परिवर्तनका कारण मानव अधिकारको क्षेत्रमा नयाँ र जटिल चुनौतीहरू थपिएको बताउनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले हिंसाको स्वरूप परिवर्तन भएको धारणा व्यक्त गर्नुभयो । उहाँले हिंसा सधैँ शरीरमा देखिने नील डाममा मात्र सिमित नहुने उल्लेख गर्दै अहिले मोबाइल, कम्प्युटर, विभेदकारी तथ्याङ्क र एल्गोरिदमभित्र लुकेका डिजिटल हिंसाहरू बढ्दै गएको बताउनु भयो ।
आर्टिफिसियल इन्टेलिजेन्स, बायोमेट्रिक्स, अनुहार पहिचान र व्यापक तथ्याङ्क सङ्कलन जस्ता प्रविधिले मानिसलाई सुविधा दिएपनि यसले गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता, समानता र मानवीय स्वायत्ततामा नयाँ प्रश्नहरू जन्माएको उहाँको तर्क छ ।
प्रविधिको विरोध समाधान नभएको स्पष्ट पार्दै उहाँले प्रविधिलाई पारदर्शी, मानवीय निगरानीमा आधारित र स्पष्ट जवाफदेहीतासहित मानव गरिमाको सेवामा लगाउनुपर्नेमा जोड दिनुभयो । डिजिटल सुरक्षाका नाममा अभिव्यक्ति स्वतन्त्रता दबाउन नहुने भन्दै उहाँले पीडितका लागि प्रभावकारी उजुरी संयन्त्र, प्लेटफर्मको जवाफदेहीता र डिजिटल साक्षरता नै आजको आवश्यकता भएको बताउनु भयो ।
न्यायाधीश मल्लले जलवायु संकटलाई मानव अधिकारको अर्को ठूलो चुनौतीका रूपमा चित्रण गर्नुभयो । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिमपहिरो जाने र मानवीय क्षति हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले अब ‘प्रकृतिको अधिकार’ का बारेमा सोच्नुपर्ने बेला आएको बताउनु भयो