काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको एमालेका मुख्य सचेतक महरको आरोप, करका दर हेरफेर र अर्थमन्त्री वाग्लेको कार्यशैलीमाथि संसदीय छानबिन गर्न माग ।।
नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले आगामी आर्थिक वर्षको बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै मुख्य सचेतक महरले यस्तो आरोप लगाउनुभएको हो । बजेटले मुलुकको भौगोलिक तथा सामाजिक यथार्थलाई उपेक्षा गरेको बताउनुभयो । सरकार र विशेषगरी अर्थमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ । मुख्य सचेतक महरले ९ वटा मन्त्रालयको छलफल भइरहँदा अर्थमन्त्रीसहितका जिम्मेवार मन्त्रीहरू सदनमा उपस्थित नहुनुले संसद् र बजेटप्रतिको स्वामित्वमा प्रश्न उठाएको उहाँको तर्क छ । मुख्य सचेतक महरले वर्तमान सरकारबाट प्याराडाइम सिफ्ट गर्ने खालको बजेटको अपेक्षा गरिएको भएपनि परिणाम निराशाजनक रहेको बताउनुभयो ।
मुख्य सचेतक महरले करका दरमा गरिएको हेरफेर र बिवाइडी गाडी आयातको सन्दर्भमा गम्भीर प्रश्न उठाउनुभयो । यसलाई ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यद्रोह’ को संज्ञा दिनुभएको छ । उहाँले विगतका मन्त्रीहरूले प्रश्न उठ्दा राजीनामा दिएको नजिर स्मरण गराउनुभयो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सांसदहरूलाई धम्काउनुको सट्टा नैतिकताका आधारमा छानबिनका लागि तयार हुनुपर्ने उहाँले माग गर्नुभयो ।
सरकारले ६ सय ५७ अर्ब ऋण लिने लक्ष्य राखेकोप्रति आपत्ति जनाउँदै मुख्य सचेतक महरले स्रोतको सुनिश्चितता नभएको बजेटलाई ‘भरिएको बेलुन’ को संज्ञा दिनुभयो । नयाँ र पुरानो शक्तिको भाष्य स्थापित गर्न खोजिएको भएपनि विचार र कार्यशैलीमा कुनै नवीनता नदेखिएको उहाँको टिप्पणी थियो ।