काठमाडौं ।

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले नेपालमा भइरहेको बाढीपहिरो तथा विपद्का विषयलाई अन्तर्राष्ट्रिय फोरममार्फत उठाउनुपर्ने बताउनुभएको छ । 

बुधवार समितिको बैठकमा बोल्दै शाक्यले अहिले नेपालमा बाढीपहिरोलगायतका विपद्का घटना भइरहेका बेला अन्तर्राष्ट्रिय फोरमलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको हो । उहाँले दुवै सदनमा विपद्का विषयमा आवाज उठिसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संसदीय फोरममा अन्य देशहरूले जस्तै नेपालले पनि आपत्कालीन विषय छलफलका लागि प्रश्तुत गर्न सक्ने बताउनु भयो । शाक्यले नेपालले अन्तर्राष्ट्रिय फोरममा उठाउन सक्ने विषयका सम्भावित शिर्षकहरूबारे समेत बैठकमा जानकारी गराउनु भयो ।

उहाँकाअनुसार विपद् तथा बाढीपहिरोबाट प्रभावित नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग, विपद् व्यवस्थापन, जलवायु न्याय तथा पुनस्र्थापनासँग सम्बन्धित विषयलाई आपत्कालीन एजेन्डाका रूपमा अघि बढाउन सकिन्छ । नेपालले प्रश्तुत गरेको विषयमा अन्य देशबाट समर्थन जुटाउनसके त्यसबाट आवश्यक पुनर्निर्माण तथा पुनस्र्थापनाका पहलहरू अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

आफू अन्तर्राष्ट्रिय फोरमको स्टेरिङ कमिटी सदस्यसमेत रहेको उल्लेख गर्दै शाक्यले सम्बन्धित विषयमा मन्त्रालयबाट आवश्यक समर्थन तथा अनुमोदन लिएर प्रश्ताव अघि बढाइसकेको जानकारी दिनुभयो । अब त्यसलाई महासभाबाट अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।