काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीका कारण राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने दक्ष जनशक्तिको अपूरणीय क्षति भएको बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि महासचिव शंकर पोखरेलद्वारा प्रश्तुत प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले बेपत्ता र मृत्यु हुनेमा ४० वर्ष मुनिका इन्जिनियर तथा प्राविधिकहरू ठूलो संख्यामा रहेको उल्लेख गर्दै यसले मुलुकको पुनर्निर्माण र विकासका कार्यमा जनशक्तिको अभाव खड्किने चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले पीडितहरूको पुनस्र्थापना केवल घर निर्माणमा मात्र सीमित हुन नहुने बताउनु भयो । पीडितहरूलाई सामान्य जीवनमा फर्काउन र उनीहरूको स्थायी आम्दानी सुनिश्चित गर्न प्रदेश सरकारले ‘बाढीपीडित पुनस्र्थापना कम्पनी’ जस्ता अवधारणामा काम गर्नुपर्ने उहाँको सुझाव थियो । पीडितहरूले उत्पादन गरेका वस्तुलाई ब्राण्डिङ गरेर बजार व्यवस्थापन गर्न सके उनीहरूको आर्थिक अवस्था सुधार हुने धारणा उहाँले राख्नुभयो । प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको अध्यक्ष ओलीले उल्लेख गर्नुभयो ।
धेरै शवहरू पहिरोमा पुरिएका र कतिपय नदीले बगाएर भारतसम्म पु¥याएकाले यथार्थ विवरण संकलन गर्न कठिन भइरहेको उहाँको भनाइ छ । उहाँले बाढीले क्षतविक्षत पारेका शवहरूको पहिचान गर्नसमेत समस्या भइरहेको भन्दै यस्तो अवस्थालाई ‘दर्दनाक’ संज्ञा दिनुभयो ।
राहत वितरण कार्यलाई व्यवस्थित र न्यायोचित बनाउन अध्यक्ष ओलीले निर्देशन दिनुभयो । कतै दोहोरिने र कतै अभाव हुने स्थिति आउन नदिन एकद्वार प्रणाली र तथ्याङ्कका आधारमा कम्तीमा एक महिना पुग्ने खाद्यान्न प्याकेज उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । विशेषगरी दीर्घरोगीहरू (ब्लड प्रेसर, सुगर आदि) का लागि नियमित औषधिको अभाव हुन नदिन स्वास्थ्य टोली परिचालन गरी तत्काल सम्बोधन गर्न उहाँले ध्यानाकर्षण गराउनु भयो ।