काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिजुलीको महशुल घटाउने गृहकार्य तीव्र पारेको छ । 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गएको साउन १३ मा विद्युत् महशुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । समितिको सुझाव अनुसार नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र विभिन्न उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो ।

यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता र वित्तविज्ञहरू सदस्य हुनुहुन्छ ।

अपराह्न ४ बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महशुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित विद्युत् बढी भइ खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक खपत बढाउन महशुल पुनरावलोकन गर्न लागिएको जानकारी दिनुभएको छ ।