काठमाडौं ।

सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याएको छ । 

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । यसअघि १२ वर्ष रहेकोमा बुधवारको मन्त्रीपरिषद् बैठकले उक्त अवधि छोट्याएर ४५ दिन बनाएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताउनु भयो । त्यस्तै सरकारले ाष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ ।

पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलेट जेनेरल स्थापना गर्न सहमति दिने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनु भयो । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्ने निर्णय भएको छ । 

सरकारले सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायव महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णय गरेको पनि बताउनु भयो ।