काठमाडौं । निर्यातमा भइरहेको भारतीय झन्झटको कारण इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । त्यसले नेपालमा उत्पादित चिया निर्यातमा झन्झट भएको हो ।
५३ वटा चिया उत्पादन कम्पनी आवद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएशन नेपालले निर्यात सहज नभए असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । सूर्योदय नगरपालिकामा दुई हजार ९ सय ९५ चिया किसान छन् ।
यहाँ ३३ हजार ६ सय ५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । उद्योग बन्द भए चिया किसान समस्यामा पर्ने स्थिति देखिएको छ । सूर्योदय नगरपालिकाले चिया बिक्रीका लागि भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ । सरकारले समयमै कूटनीतिक पहल गरेर निर्यात सहजीकरण नगरे अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा .देखिएको छ ।