काठमाडौं ।
रसुवाको भोटेकोशी बाढीका कारण जीवन गुमाउनेको संस्या एक हजार नाघेको छ ।
बाढीमा परेर तीन हजार नौ सय १६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस मध्ये पाँच सय ८३ विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा रहेका एक सय ६४ जना नेपाली रहेका छन् । बेपत्ताहरूको खोजीमा सुरक्षाकर्मी परिचालित भइरहेका छन् ।
बाढीमा परी जीवन गुमाउनेहरूको शव विभिन्न जिल्लाबाट संकलन गरिएको छ । चितवनस्थित नारायणी नदीबाट सबैभन्दा बढी तीन सय २१ शव संकलन गरिएको छ । प्राधिकरणका अनुसार बाढीमा परेर दुई सय ७९ जना घाइते भएका छन् । त्यस मध्ये एक सय ६८ जना उपचारपछि घर फर्किसकेका छन्।
बाढीको कारण जोखिममा परेकाहरु ११ हजार ८ सय १४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न थालिएको छ । रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र प्रभावित १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।