काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनी भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण भोग्नुपरेको यो त्रासदी केवल नेपालको मात्र नभई सम्पूर्ण मानवताको साझा संकट भएको बताउनुभएको हो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले अगस्ट २६ को बाढीले निम्त्याएको क्षतिबारे विश्वको ध्यानाकर्षण गराउनुभयो ।

उहाँकाअनुसार यस विपत्तिमा एक हजार चार सय जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् ।नेपालको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १० प्रतिशत खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।प्रधानमन्त्री शाहले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शुन्य दशमलव १ प्रतिशतभन्दा कम रहे पनि यसले जलवायु परिवर्तनको गम्भीर मूल्य चुकाउनु परिरहेको यथार्थ प्रश्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो संकट सिर्जना गरेका होइनौँ, तर यसको मार हामीमाथि परिरहेको छ ।’हिमनदी पग्लिने र नदीहरूको बहावमा आएको अनपेक्षित परिवर्तनले पहाडी क्षेत्रको भू–बनोटलाई अस्थिर बनाएकोतर्फ उहाँले सचेत गराउनुभयो । प्रधानमन्त्री शाहले जलवायु न्यायको माग उठाउँदै सहायता प्रक्रियामा रहेको झन्झटिलो प्रणालीको आलोचना गर्नुभयो ।