काठमाडौं ।

मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा बढ्दो विकृति र बेथिति अन्त्य गर्न असफल भएको आरोप लगाउँदै मधेस युवा सञ्जालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको तत्काल राजीनामा माग गरेको छ । 

आफ्ना मागहरूमाथि मन्त्रालयले कुनै सुनुवाई नगरेको र जिम्मेवार निकायले बेवास्ता गरेको भन्दै सञ्जालले जनकपुरधामस्थित मधेस भवन अगाडि विरोध प्रदर्शन गरेको हो । मधेस युवा सञ्जालले प्रदेशको स्वास्थ्य सेवालाई पारदर्शी र जनमुखी बनाउन भन्दै यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो । तोकिएको समयसीमाभित्र सरकारले ठोस कार्ययोजना सार्वजनिक नगरेको र स्वास्थ्यमन्त्रीसमेत ज्ञापनपत्रको विषयमा अनभिज्ञता प्रकट गरेको भन्दै युवाहरू आक्रोशित बनेका छन् ।

प्रदर्शनकारीहरूले प्रदेशका अस्पतालहरूमा देखिएको चरम लापरवाहीको श्रृंखलाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सञ्जालले प्रादेशिक अस्पताल जनकपुरधाममा नवजात शिशुको मृत्यु, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी महिलाको दयनीय अवस्था र जनकपुरकै मुस्कान अस्पतालमा शल्यक्रियापछि भएको बिरामीको मृत्युको घटनालाई मुख्य मुद्दा बनाएको छ । यस्ता घटनाहरू स्वास्थ्य प्रणालीको असफलताको प्रमाण भएको भन्दै सञ्जालले दोषीमाथि तत्काल कारबाही र प्रदेशको सम्पूर्ण स्वास्थ्य सेवाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको छ ।