काठमाडौं ।

सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ । 

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिव १० करोड नेपाली रूपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो । उहाँकाअनुसार सरकारले नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यस्तै सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको उहाँले जानकारी दिनुभएको हो । मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सिमितता रहे पनि २७ वटा महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो । 

सरकारले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका बुँदा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।